
>काठमाडौं । ललितपुरस्थित नक्खु कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट बाहिरिएका कैदीबन्दीहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ। प्रशासनले कानुनी प्रक्रिया र विधिको पूर्ण पालना गर्नुपर्ने भन्दै सार्वजनिक अपिल जारी गरेको हो।
जेनजी आन्दोलन तीव्र हुँदै गएपछि रास्वपा सभापति रवि लामिछानेसहितका केही बन्दीहरू नक्खु कारागार परिसरबाट बाहिरिएका थिए। लामिछानेले भने आफूलाई कारागार प्रशासनले कानुनी प्रक्रिया पूरा गरेर रिहा गरेको दाबी गर्दै आएका छन्। तर, नक्खु कारागार प्रशासनले शुक्रबार सूचना प्रकाशित गर्दै फरार भनिएका बन्दीहरू सम्पर्कमा नआए कानुनअनुसार थप कडाइका साथ कारबाही हुने चेतावनी दिएको छ।
कारागार प्रशासनले भनेको छ, “यदि अविलम्ब सम्पर्कमा नआए फरार अवस्थाको निरन्तरता हुनेछ र कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिनेछ।” यसअघि, जेनजी आन्दोलन चर्किएसँगै राजधानीका विभिन्न जेल तथा सुरक्षा निकायहरूमा पनि असामान्य गतिविधि भएको भन्दै सरकारले सुरक्षा सतर्कता बढाएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे