
काठमाडौं। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच एक महत्वपूर्ण व्यावसायिक सम्झौता सम्पन्न भएको छ। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र एसोसिएसनका अध्यक्ष डा. अनिलविक्रम कार्कीले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि बैंकले एसोसिएसनका सदस्य चिकित्सक र स्वास्थ्य व्यवसायीहरूलाई विभिन्न वित्तीय तथा डिजिटल सेवामा विशेष सुविधा उपलब्ध गराउने जनाएको छ। यस कदमले स्वास्थ्य क्षेत्रका व्यवसायीलाई वित्तीय पहुँच र सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार एसोसिएसनका सदस्यले बैंकका २७५ शाखाबाट प्रोफेसनल बचत खाता खोलेर १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा पाउनेछन्। साथै, व्यावसायिक कर्जा, साना तथा मझौला उद्यम कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, घर कर्जा र सवारी साधन कर्जामा पनि आकर्षक सुविधा उपलब्ध हुनेछ।
यससँगै, बैंकले सदस्यहरूलाई डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ सेवा तथा डिजिटल ट्रान्जेक्सन मा समेत विशेष छुट दिने जनाएको छ। यसले चिकित्सक र स्वास्थ्यकर्मीलाई दैनन्दिन वित्तीय कारोबारलाई अझ सहज र सुरक्षित बनाउने विश्वास गरिएको छ।
सम्झौताबाट प्रत्यक्ष लाभान्वित हुने सदस्यहरूले बैंकसँगको सहकार्यलाई स्वागत गरेका छन्। बैंकले भने यसलाई स्वास्थ्य व्यवसायीसँग दीर्घकालीन सहकार्यको सुरुवातका रूपमा लिएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले हालसम्म विभिन्न पेशागत संघसंस्थासँग सहकार्य गर्दै विशेष वित्तीय सेवा प्रवाह गर्दै आएको छ। यस सम्झौता मार्फत स्वास्थ्य क्षेत्रका सदस्यलाई वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे