शनिबार नेपाल भ्रमणमा रहेकी उपराष्ट्रपति सुआनसँगको शिष्टाचार भेटका क्रममा मन्त्री राणाले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट सोझै उडान सञ्चालन गर्न आवश्यक कदम चाल्न अनुरोध गरिन्। उनले लुम्बिनी भ्रमण गर्ने भियतनामी पर्यटकहरूको संख्यामा उल्लेखनीय वृद्धि भएकाले सीधा उडानले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने बताइन्।
भेटमा मन्त्री राणाले दुवै देशबीचको सांस्कृतिक र धार्मिक सम्बन्धलाई बलियो बनाउन बौद्ध धर्मको साझा सम्पदा उजागर गर्नु आवश्यक रहेको धारणा राखिन्। उनले भियतनामको आर्थिक प्रगतिको प्रशंसा गर्दै २०२६ पछि नेपाल अतिकम विकसित राष्ट्र (LDC) बाट स्तरोन्नतिमा प्रवेश गर्ने क्रममा आवश्यक सहकार्यका लागि अपिल गरिन्।
परराष्ट्र मन्त्रालयका अनुसार, मन्त्री राणाले सन् २०२७–२०२९ का लागि मानवअधिकार परिषद र सन् २०२९–२०३१ का लागि आर्थिक तथा सामाजिक परिषदमा नेपालको उम्मेदवारीमा समर्थन गर्न आग्रह गरिन्। उपराष्ट्रपति सुआनले नेपाललाई समर्थन गर्ने प्रतिबद्धता जनाएकी थिइन्।
भेटघाटमा G77 र NAM (Non-Aligned Movement) का सदस्य राष्ट्रका रूपमा नेपाल र भियतनामले विकासशील राष्ट्रहरूको हितमा सहकार्य गर्दै आएको उल्लेख भयो। साथै, जलवायु परिवर्तन, दक्षिण-दक्षिण सहयोग र अन्य बहुपक्षीय एजेन्डामा पनि आगामी दिनमा सहकार्यलाई थप मजबुत बनाउने सहमति भएको मन्त्रालयले जनाएको छ।








