
काठमाडौं । कुलिङ अफ पिरियडसम्बन्धी गडबडी छानबिन विशेष समितिले जिम्मेवारको रूपमा नाम जोडिएको भन्दै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर सम्बोधन गर्दै खतिवडाले हाँस्दै पद त्यागको घोषणा गरे। उनले निजामति सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियडको प्रावधान राख्नुपर्ने पक्षमा सक्रिय रूपमा लागेको स्मरण गर्दै, राजनीतिमा गरिएका कामको उचित मूल्यांकन नहुने तर नगरेका कामको अपजस व्यहोर्नुपर्ने परिस्थितिले आफूलाई यस्तो निर्णय गर्न बाध्य बनाएको उल्लेख गरे।
“नखाएको विष लाग्दैन,” भन्दै खतिवडाले समितिले औपचारिक रूपमा दोषी नठहराए पनि आफ्नो जिम्मेवारीको बोध गर्दै पद त्यागेको स्पष्ट पारे। उनका अनुसार विधेयक पारित गर्दा स्थायी सरकारका रूपमा रहने निजामति कर्मचारीमाथि अत्यधिक विश्वास गर्नु आफ्नो कमजोरी थियो। उनले अन्तिम चरणमा आवश्यक अध्ययनमा पर्याप्त ध्यान नपुगेको स्वीकार गरे।
यद्यपि खतिवडाले समितिमा आफूबाट कुनै गल्ती नभएको दाबी गर्दै भने, “मबाट त्यस्तो त्रुटिको कल्पना पनि हुन सक्दैन र भएको पनि छैन भन्ने विश्वास संसदलाई दिलाउन चाहन्छु।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे