
काठमाडौं । आयकर ऐनको व्यवस्थाले गर्दा उल्लेख्य सञ्चालन नाफा आर्जन गर्न सफल कुमारी बैंकले गत आर्थिक वर्षमा पनि अपेक्षाकृत कम खुद नाफा देखिएको छ। आयकर ऐनको दफा ५९(१क) अनुसार बैंकहरुले कर्जा तथा गैर बैंकिङ सम्पत्तिमा छुट्याइएको जगेडाको केवल ५ प्रतिशतमात्रै खर्च मान्न सकिने प्रावधानले गर्दा बैंकले नाफा नदेखिए पनि ठूलो परिमाणमा कर तिर्न बाध्य भएको हो।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब १३ करोड ४५ लाख रुपैयाँको सञ्चालन नाफा आर्जन गरेको छ। कर्जा रिकभरीमा सुधार आए पनि ऋण राइटअफका कारण गैर सञ्चालन खर्च ४२ करोड रुपैयाँ नाघेपछि कर अघिको नाफा ५ अर्ब ७८ करोड १४ लाख रुपैयाँ पुगेको हो। तर, सोही आर्थिक वर्षमा बैंकले कर स्वरूप ३ अर्ब ६६ करोड ५० लाख रुपैयाँ तिर्नुपरेको थियो।
गत वर्षमात्र होइन, अघिल्लो वर्ष २०८०/८१ मा कर अघिको नाफा ९९ करोड ९० लाख रुपैयाँ मात्र रहे पनि बैंकले ९९ करोड ४४ लाख रुपैयाँ आयकर बुझाएको थियो। यसरी लगातार दुई वर्ष नाफाभन्दा बढी आयकर तिर्नुपरेको अवस्था रहेको बैंकले जनाएको छ।
बैंकको कुल लगानी करिब ३ खर्ब रुपैयाँ रहेको छ। सोको ५ प्रतिशत अर्थात् १५ अर्ब रुपैयाँको कर्जा तथा सम्पत्ति जोखिम व्यवस्थापन खर्च लेखांकन गर्न नपाउँदा बैंकले करको चाप खेप्नुपरेको हो। बैंकको कुल प्रोभिजन २५ अर्ब पुगे पनि करीब १० अर्बको जगेडामा खर्च मान्न नसकिएकाले सो रकममा पनि आयकर तिर्नु परेको हो।
यद्यपि, कर्जा नोक्सानी व्यवस्थापनमा उल्लेख्य सुधार आएको छ। अघिल्लो वर्ष ६ अर्ब ८४ करोड छुट्याइएकोमा यो वर्ष २ अर्ब ७९ करोड ६२ लाख रुपैयाँ मात्र छुट्याइएको छ। यसले सञ्चालन नाफा र सोबाट उत्पादित खुद नाफा पनि बढेको छ।
खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ भने फि तथा कमिसन आम्दानी २७.४४ प्रतिशतले बढेर २ अर्ब ६७ करोड पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी १५ अर्ब १३ करोड पुगेको छ।
ब्याज तथा बक्यौता असुलीमा प्रगति भएसँगै बैंकको सञ्चित घाटा पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो वर्षको अन्त्यसम्म ५ अर्ब ३६ करोड रुपैयाँमा पुगेको घाटा घटेर हाल २ अर्ब ७९ करोडमा झरेको छ। कुल २ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी बक्यौता ब्याज असुली गरी सो रकम नियामकिय जगेडाबाट फिर्ता गरिएकाले घाटा न्यूनीकरण भएको हो।
बैंकले असार मसान्तसम्म २ खर्ब ६० अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३ खर्ब ६४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। २६ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्राथमिक पुँजीकोष ८.९४ प्रतिशत र समग्र पुँजीकोष अनुपात १२.९८ प्रतिशत पुगेको छ।
बैंकको निष्कृय कर्जा अनुपात ६.४२ प्रतिशत रहेको छ भने खुद निष्कृय कर्जा ०.६७ प्रतिशतमा झरेको छ। प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७ पैसा पुगेको र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा रहेको बैंकको मूल्य–आम्दानी अनुपात २७.२३ गुणा रहेको छ।
तर, सञ्चित घाटा अझै शून्य नहुनु र नियामकिय जगेडामा ट्रान्सफर गरिनु पर्ने रकमको कारण, बैंकले लाभांश वितरण गर्ने अवस्था भने अहिल्यै बनेको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे