
काठमाडौं। नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले हस्ताक्षर गरेका हुन्।
सम्झौतासँगै बैंकले हालसम्म आफैं सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैर-योगदानमा आधारित उपदान तथा अन्य अवकाशसम्बन्धी खाताहरू नागरिक लगानी कोषमा हस्तान्तरण गरेको छ। यसका साथ, सिद्धार्थ बैंकमा कार्यरत करिब २ हजार कर्मचारीको उपदान एवम् अवकाशसम्बन्धी रकमको व्यवस्थापन तथा सञ्चालन अबदेखि नागरिक लगानी कोषले गर्नेछ।
यो कदम आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित कानुनी संशोधन अनुरूप गरिएको हो। आर्थिक ऐन, २०८२ मा गरिएको संशोधन अनुसार साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू अबदेखि नागरिक लगानी कोष लगायतका अधिकृत कोषमा अनिवार्यरूपमा आबद्ध हुनुपर्ने व्यवस्था गरिएको छ।
यसै सन्दर्भमा आन्तरिक राजस्व विभागले २०८२ साल असार ३१ गते सूचना प्रकाशित गर्दै, आयकर ऐन, २०५८ को व्यवस्था अनुसार स्वीकृत अवकाश कोषहरू सम्वत् २०८३ साल असार मसान्तभित्र सम्बन्धित कोषमा आवद्ध गरिसक्नुपर्ने जानकारी गराएको थियो।
उक्त व्यवस्था र सूचनाको पालना गर्दै सिद्धार्थ बैंकले आफूले सञ्चालन गर्दै आएको सम्पूर्ण अवकाश कोष नागरिक लगानी कोषमा हस्तान्तरण गरी कर्मचारीको दीर्घकालीन वित्तीय सुरक्षालाई थप संस्थागत गरेको हो। यो साझेदारीले वित्तीय पारदर्शिता, उत्तरदायित्व र कर्मचारी लाभमा नयाँ विश्वास निर्माण गर्ने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे