
काठमाडौं। सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको रकमको ब्याज वितरण सम्पन्न गरेको छ। कोषले झण्डै २४ लाख योगदानकर्ताको खातामा ब्याज रकम जम्मा गरिसकेको जानकारी सार्वजनिक सूचना अधिकारी डा. रोशन कोजुले दिएका छन्।
उनका अनुसार कोषले सो योजनामा सूचीकृत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ रुपैयाँ बराबरको ब्याज रकम वितरण गरिसकेको हो। कोषले चालु आर्थिक वर्षको चैत ४ गतेसम्म जम्मा रकममा वार्षिक ५.५ प्रतिशत ब्याजदर र त्यसपछिको अवधिमा ५ प्रतिशत ब्याजदर प्रदान गरेको जनाएको छ।
हालसम्म कोषमा औपचारिक क्षेत्रबाट ६ लाख ३ हजार ४२६, वैदेशिक रोजगार क्षेत्रमा संलग्न १७ लाख ८५ हजार ५७३, अनौपचारिक क्षेत्रका ७२० र स्वरोजगारको रूपमा ४२२ जना योगदानकर्ताले नाम दर्ता गराइसकेका छन्। कुल सूचीकृत योगदानकर्ताको संख्या २३ लाख ९० हजार १४१ पुगेको छ।
कोषले हालसम्म ८६ अर्ब ८६ करोड रुपैयाँ बराबरको योगदान रकम संकलन गरिसकेको छ भने विभिन्न सामाजिक सुरक्षा योजना अन्तर्गत १५ अर्ब ७७ करोड रुपैयाँ दाबी भुक्तानी वितरण गरिसकेको छ। कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता राहत, आश्रित परिवार सहयोग र वृद्धावस्था सुरक्षा योजना प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे