
काठमाडौं — पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड मर्जर प्रक्रिया अघि बढाउने सहमतिमा पुगेका छन्। अब मर्जरपछिको एकीकृत कारोबार “पोखरा फाइनान्स लिमिटेड”का नाममा संचालन हुनेछ भने केन्द्रीय कार्यालय राजधानी काठमाडौंमा स्थानान्तरण गरिनेछ।
दुवै संस्थाबीच १ः१ को स्वाप रेसियो (एक सेयर बराबर एक सेयर) मा मर्ज हुने सहमति भएको हो। मर्जर सम्झौतामा पोखरा फाइनान्सका अध्यक्ष तिलबहादुर गुरुङ र समृद्धि फाइनान्सका अध्यक्ष सुदीप घिमिरेले हस्ताक्षर गरेका छन्।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त यी दुवै संस्थाले नियामकीय स्वीकृति प्राप्त गरेपछि मंसिरभित्र एकीकृत कारोबार प्रारम्भ गर्ने लक्ष्य लिएका छन्। मर्जर प्रक्रियाअन्तर्गत आइतबारदेखि दुवै फाइनान्स कम्पनीको सेयर कारोबार नेप्सेमा रोक्का गरिएको छ।
हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख रुपैयाँ रहेको छ भने समृद्धि फाइनान्सको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ रहेको छ। मर्जरपछिको एकीकृत पोखरा फाइनान्सको कुल चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुग्नेछ।
एकीकृत कम्पनीको सञ्चालक समिति सात सदस्यीय रहनेछ। जसमा समृद्धिका तर्फबाट अध्यक्षसहित चार जना र पोखराका तर्फबाट तीन जना सञ्चालक रहनेछन्। यद्यपि, प्रमुख कार्यकारी अधिकृतको टुंगो भने हालसम्म लागिसकेको छैन।
मर्जरपछि बन्ने संस्था अझ सबल, प्रतिस्पर्धी र संस्थागत हिसाबले सक्षम हुने दाबी दुवै कम्पनीले गरेका छन्। नियामकीय सहमति र प्राविधिक प्रक्रिया सम्पन्न भएसँगै मर्जर औपचारिक रूपमा कार्यान्वयनमा ल्याइनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे