
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ।
बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण, प्राथमिकताका कार्यसूचीहरूबारे विस्तृत छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आयोगले प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तथा रणनीति तय गर्ने प्रक्रियालाई प्राथमिकता दिएको छ।
बैठकमा आगामी कार्ययोजनालाई संस्थागत रूपमा अघि बढाउन राजनीतिक दल, विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिहरूको मनोनयन प्रक्रिया यथाशीघ्र सम्पन्न गर्ने निर्णय गरिएको छ। आयोगको दोस्रो पूर्ण बैठक आगामी साता हुने जानकारी दिइएको छ।
मन्त्रिपरिषद्को वैशाख ८ गतेको बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको थियो। आयोगमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री राजकुमार गुप्ता लगायतको सहभागिता रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे