
एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड (नेशनल गार्ड) प्रयोग गरे पनि लस एञ्जलसमा आप्रवासीसम्बन्धी प्रदर्शन रोकिएको छैन। आप्रवासीहरूविरुद्ध भइरहेको धरपकडको विरोधमा गएको शुक्रवारदेखि सुरु भएको प्रदर्शन अहिले पनि तीव्र रूपमा जारी छ।
बीबीसीले सार्वजनिक गरेको भिडियो तथा तस्बिरहरूमा प्रदर्शन स्थलमा सुरक्षाकर्मीहरूले अश्रुग्याँस प्रयोग गरिरहेको देखिन्छ। अवस्थालाई नियन्त्रणमा लिन ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा गार्ड खटाए पनि प्रदर्शनकारीहरू झनै आक्रोशित भएका छन्।
यसैबीच, डेमोक्र्याट गभर्नरहरूले ट्रम्पको कदमको कडा आलोचना गरेका छन्। उनीहरूले बिना सल्लाह संघीय स्तरबाट सुरक्षा गार्ड प्रयोग गरेको भन्दै ट्रम्पमाथि शक्ति दुरुपयोगको आरोप लगाएका छन्। संयुक्त विज्ञप्तिमा उनीहरूले राष्ट्रिय सुरक्षा गार्ड राज्यको अधिकार क्षेत्रभित्र रहने भए पनि ट्रम्पले त्यसलाई संघीय हस्तक्षेपको रूपमा प्रयोग गरेको बताएका छन्।
प्रदर्शन चर्किनुको मुख्य कारण मजदुर नेता डेभिड हुरेटाको गिरफ्तारी हो, जसलाई शुक्रबार पक्राउ गरिएको थियो। त्यसयता लस एञ्जलसको विभिन्न क्षेत्रमा तनावपूर्ण अवस्था कायम छ। प्यारामाउन्ट क्षेत्रमा ल्याटिनो समुदायका सदस्यहरू र अमेरिकी आप्रवासन एजेन्सी (ICE) का अधिकारीहरूबीच झडप भएको छ।
ICE को पछिल्लो कारबाहीमा अहिलेसम्म ११८ जना आप्रवासीहरू पक्राउ परेका छन्। लस एञ्जलसका धेरै सडकहरू बन्द छन् भने सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनकारीहरूले आप्रवासी अधिकारको संरक्षण र धरपकडको अन्त्यको माग गर्दै प्रदर्शनलाई जारी राखेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे