
एजेन्सी। पुत्रको भड्किलो जीवनशैलीसम्बन्धी तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि सुरु भएको विरोध प्रदर्शन र भ्रष्टाचार अनुसन्धानको चपेटामा परेका मंगोलियाका प्रधानमन्त्री लुभसान्नामसराईन ओयुन-एर्डेनेले पदबाट राजीनामा दिएका छन्।
पछिल्ला केही सातायता राजधानी उलानबातारलगायत विभिन्न स्थानमा सयौँ प्रदर्शनकारीहरूले सडक तताइरहेका थिए। अधिकांश प्रदर्शनकारी युवा वर्ग थिए, जसले ओयुन-एर्डेनेको पारिवारिक जीवनशैलीप्रति आक्रोश व्यक्त गर्दै प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आएका थिए।
भाइरल बनेका तस्बिरमा ओयुन-एर्डेनेका छोरा र उनकी प्रेमिका विदेश भ्रमणका क्रममा डिओर ब्रान्डको महंगो झोला र अन्य ब्रान्डेड किनमेलका झोलाहरू प्रदर्शन गरिरहेका देखिन्छन्। ती तस्बिरमध्ये एकमा “Happy birthday to me” भन्ने क्याप्सनसहित डिओर झोला देखाइएको थियो भने अर्को तस्बिरमा जोडी स्वीमिङ पुलमा चुम्बन गरिरहेको देखाइएको थियो ।
उक्त तस्बिरहरू सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिन थालेपछि मंगोलियाको भ्रष्टाचार अनुसन्धान निकायले प्रधानमन्त्रीको परिवारको वित्तीय अवस्थाबारे छानबिन थालेको थियो। प्रधानमन्त्रीले भने आफूमाथिको आरोपलाई अस्वीकार गर्दै आफूविरुद्ध षड्यन्त्र गरिएको बताएका थिए।
मंगलबार संसद्मा आयोजित विश्वास मतको मतदानमा ८८ सांसद सहभागी भएका थिए। जसमध्ये ४४ सांसदले ओयुन-एर्डेनेको पक्षमा मतदान गरे भने ३८ जनाले विपक्षमा मत दिए। उनलाई पदमा टिक्न संसद्का १२६ मध्ये कम्तीमा ६४ सांसदको समर्थन आवश्यक थियो, जुन पुरा हुन सकेन।
“महामारी, युद्ध र कर वृद्धिका कठिन समयमा देश र जनताको सेवा गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो,” मतदानपछि ओयुन-एर्डेनेले प्रतिक्रिया दिएका थिए।
राजधानीको सुक्बातार स्क्वायरमा आयोजित प्रदर्शनहरूमा ओयुन-एर्डेनेविरुद्ध आक्रोशित नारा लगाइएको थियो। तस्बिरहरू AFP र स्थानीय सञ्चारमाध्यममार्फत प्रकाशित भएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे