
इटहरी ।कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा पाथीभरा दर्शनका लागि गइरहेको जिपमा करेन्ट लागी आगलागी हुँदा चार जनाले ज्यान गुमाइसकेका छन्। फुङलिङ नगरपालिका–१० स्थित शेवारो चौकमा गुडिरहेको मे १ च ३०११ नम्बरको जिपमा अचानक विद्युत्को तार खसेपछि करेन्ट लागेको र त्यसपछि गाडीमा आगो लागेको थियो।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमबहादुर दाहालका अनुसार, दुर्घटनामा परी फुङलिङका गाडी चालक दुर्गा भट्टराई, ललितपुरकी आध्या आचार्य, झापा भद्रपुरका विनोद पौडेल र सरिता पौडेलको ज्यान गइसकेको छ।
घटनामा सविना आचार्य गम्भीर घाइते भएकी छिन् भने उनका छोरा अभियव सामान्य घाइते भएका छन्। ज्यान गुमाउने आध्या, सविनाकै छोरी रहेको र विनोद–सरिता अभियवका मावली हजुरबुबा–हजुरआमा रहेको जानकारी प्रहरीले दिएको छ।
यस दुःखद घटनाप्रति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुःख व्यक्त गरिसकेका छन्। घाइतेको थप उपचारका लागि काठमाडौं लैजाने प्रयास भइरहेको बताइएको छ। मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईंटेलले दिएको जानकारी अनुसार, घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न प्रदेश प्रहरीले निर्देशन पाइसकेको छ।
यसैबीच, धनकुटाको पाख्रीबास नगरपालिका–५ देवीथानमा इटहरीतर्फ गइरहेको ईभी गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। ट्राफिक कन्ट्रोल कार्यालय इटहरीले दिएको जानकारी अनुसार, तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे