
काठमाडौँ, ४ फागुन । भारतको राजधानी नयाँ दिल्लीस्थित रेलवे स्टेशनमा अस्वाभाविक भीडको कारण भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको छ भने १० जना अन्य घाइते भएका छन्।
नयाँ दिल्लीको लोक नायक अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले हिजो साँझ स्टेशनमा हजारौं मानिसहरूको भिड बढेपछि भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
रोयटर्सका अनुसार, मृत्यु हुने व्यक्तिहरूमध्ये १० जना महिलाहरू र ३ जना बालबालिका छन्। भारतको प्रयागराजमा जारी कुम्भ मेलामा जाने र आउने यात्रुहरूको अत्यधिक भीडका कारण यो अप्रिय घटना घटेको हो।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत दिल्ली घटनामा गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। टाइम्स अफ इण्डियाका अनुसार, राति करिब ८:३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला भएको कारण भीडको संख्या बढेको र त्यसैको परिणामस्वरूप भागदौड मच्चिएर दुर्घटना घटेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे