
काठमाडौँ , २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा। मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ बुँदे सुझाव बुझाएका छन्। ढकालले सोमबार प्रधानमन्त्री ओलीलाई १५ बुँदे सुझाव पत्र हस्तान्तरण गरेका हुन्।
देशका ३८ वटा जिल्लाको समीक्षा यात्रामा आफूले देखेका विभिन्न विषयहरूलाई समेटेर सुझाव पेस गरेको ढकालले बताएका छन्।डा। ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन्।
उनले एकपटक नागरिकता त्यागेको व्यक्तिलाई राज्यको महत्त्वपूर्ण उच्च ओहदामा नियुक्त हुँदा ती व्यक्तिको मगजमा फेरी राष्ट्र त्यागिदिने मनोविज्ञान आउन सक्ने भन्दै यो व्यवस्था संविधानमै राख्न सुझाव दिएका छन् । आइटी हबका रूपमा नेपाल चिनाउन, लुम्बिनीमा मायादेवी प्रसूति गृह एवं गौतम बुद्ध शिशु स्याहार अस्पताल निर्माण, वैदेशिक रोजगारीमा गएर समस्यामा परेकाहरूका लागि उद्धार, न्यायालयमा सुधार, कानुन निर्माणमा चुस्तता, संविधान संशोधनका लागि सुझाव प्रस्तुत गरेका छ्न।
डा। ढकालले सुझाव पत्रमा जनतामा प्रदेश संरचनालाई लिएर व्यापक निराशा र आक्रोश रहेकोले खारेज गर्नुपर्ने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे