
काठमाडौँ, साउन ९ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकका अनुसार जहाजमा सवार १९ मध्य १८ जनाको मृत्यु भएको हो।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो ।
चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको थियो । जहाजमा १९ जना सवार रहेको जनाइएको छ । जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ।
जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ। जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे