
काठमाडौं,जेष्ठ २१। सांसद चित्रबहादुर केसीले सत्तापक्षले पेश गरेको बजेटमा तलमाथि गर्न नपाएपछि छलफलको औचित्य नभएको टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा उनले जस्तो बजेट आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भन्दै छलफलको आवश्यकता नभएको बताए ।
उनले भने, ‘यहाँ जति नै उफ्रिए पनि सत्ता पक्षले पेश गरेको बजेट एक सुका एक आना जति भनेपनि तलमाथि गर्न नपाइ, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य छ जस्तो मलाई लाग्न छोड्यो ।’
यसको साथै, संसद दिक्क लाग्दो बन्दै गएको भन्दै बजेटमा समाजवाद उन्मुख दिशा कुनै कार्यक्रम प्रस्तुत नगरिएको गुनासो पनि गरेका छन् ।
उनले भने, ‘म त यो छलफलको कुरा सुन्दा निदाएछु पनि एकछिन, यस्तो पो भयो । रमाइलो छैन संसद, दिक्क लाग्दो छ । त्यसकारण यहाँ कुराहरु धेरै आए, नेपालको संविधानमा व्यवस्था गरे बमोजिम समाजवाद उन्मूख शासन व्यवस्था निर्माणको लागि बजेटमा त्यस सम्बन्धी ठोस कार्यक्रमको व्यवस्था गर्नुपर्ने थियो । तर प्रस्तुत बजेटमा समाजवाद उन्मूख दिशा कुनै कार्यक्रम प्रस्तुत गरिएको छैन ।’
उनले साधारण खर्चको बोझ घटाउन संघीयता खारेज गर्नुपर्ने बताए । उनले भने , ‘वैदेशिक ऋण लिएर संघीय संरचना धान्ने कुरा गलत भएकाले संघीय संरचना हटाउन पर्छ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे