
काठमाडौँ, ५ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । किर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा पुरा गर्यो ।
नेपालको जितमा कुशल मल्ल र भिम सार्कीले अर्धशतक बनाए । मल्लले ७० रन बनाएर नटआउट रहे । १७५ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले ५ छक्का र ५ चौका प्रहार गरे ।
सार्कीले ७१ रन बनाएर आउट भए । यस्तै कप्तान रोहित पौडेलले ४२ रन बनाए भने कुशल भुर्तेलले ३८ रन बनाए । मलेसियाका लागि मुहम्मद वफिक, रिजवान हैदर र विरन्दीप सिंहले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २३५ रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए ।
विरन्दीप सिंहले ४६, खिजर हयातले २२, स्याजरुल इद्रुसले २१, मुहम्मद आमिरले १७, मुहम्मद स्याहादतले १५, सइद अजीजले १३, विजय उन्नीले १२ रन बनाए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले सर्वाधिक ३–३ विकेट लिए । ललित राजवंशीले २ र गुलशन झाले १ विकेट लिए ।
यो प्रतियोगिता एसिया कपको छनोट प्रतियोगिता हो । नेपालसहित मलेसिया, सिंगापुर, हङकङ, कुवेत, युएइ, ओमन, कतार, बहराइन र साउदी अरेबिया गरी १० टिम सहभागी यो प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसिया कपमा सहभागी हुन पाउनेछन् ।
एसिया कपमा ६ टिम सहभागी हुनेछन् । एउटा समूहमा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । अर्को समूहमा भारत र पाकिस्तान छन् । यो समूहको तेस्रो टिम छनोट हुन बाँकी छ । नेपालमा अहिले जारी प्रतियोगिताको विजेता भारत र पाकिस्तान भएको समूहमा तेस्रो टिमको रुपमा छानिनेछ ।
एसीसी प्रिमियर कप अन्तर्गत नै आजै मुलपानी मैदानमा भएको अर्को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे