
काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण गरेको छ । बैंकको शाखा कार्यालय विराटनगरमार्फत मोरङस्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड प्रदान गरिएको हो ।
रक्तसञ्चार सेवा प्रभावकारी बनाउन तथा रक्तदान अभियानलाई सहज र व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको बैंकले जनाएको छ । रक्तदाताका लागि आवश्यक पूर्वाधार सुदृढ गर्दै सुरक्षित तथा सहज रक्त संकलन सेवामा योगदान पुर्याउने लक्ष्यसहित सहयोग गरिएको हो ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति सुखदेव प्रसाद मण्डललाई डोनर बेड हस्तान्तरण गर्नुभयो । सो अवसरमा सभापति मण्डलले बैंकको सहयोगले रक्तदान गतिविधि सञ्चालन गर्न तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भुसालले जीवनरक्षासँग प्रत्यक्ष जोडिएको रक्तसञ्चार सेवामा योगदान गर्न पाउँदा बैंक गौरवान्वित भएको उल्लेख गर्नुभयो । उहाँले बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा बैंकका कर्मचारी, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे