
ललितपुर । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव र छुवाछुत अन्त्य गर्न संघीय संसद पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ। राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले दलित समुदायले भोग्दै आएका समस्या, पीडा र चुनौतीप्रति संसद सचेत रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित नभएसम्म समाज न्यायपूर्ण हुन सक्दैन।
जातीय विभेद अन्त्य केवल सरकारको मात्र नभई राज्य, राजनीतिक दल, नागरिक समाज र सबै नागरिकको साझा जिम्मेवारी भएको उहाँले स्पष्ट पार्नुभयो। सभामुख अर्यालले विभेद अन्त्यका लागि सामाजिक चेतना, कानुनी कार्यान्वयन र आर्थिक सशक्तीकरण आवश्यक रहेको बताउनुभयो। संविधानको धारा ४० ले दलित अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले यी व्यवस्था व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो। संसदले आवश्यक कानुन र नीतिहरू बनाएर दलित समुदायको अधिकार संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे