२०८० आश्विन १४, आईतबार
अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित लिपिङपुल नजिक भासिएर विगत तीन महिनादेखि अवरुद्ध सडक आजबाट सञ्चालनमा आएको छ । अविरल वर्षाले गत असार २ गतेदेखि भासिएको सडक मर्मत गरेपछि आज बिहानदेखि सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनियर गोविन्द डुमरीले जानकारी दिए ।
नेपाल र चीनसँगको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको तातोपानीको उक्त सडकखण्ड लामो समयदेखि अवरुद्ध भएपछि चीनबाट सामान आयात गर्न पनि सकिएको थिएन भने राजस्व सङ्कलनमा पनि असर परेको थियो । सीमा पुलबाट दुई किलोमिटर तल रहेको उक्त पुल जोखिममा पर्नुका साथै करिब २५ मिटर सडक भासिएपछि भरियाद्वारा ढुवानी गराउँदा महँगो पर्ने हुँदा लाखौं मूल्यका स्याउ कुहिएका व्यवसायीले गुनासो गरेका छन् ।
उक्त सडकको कोदारीमा पनि असार ५ गतेको बाढी पहिराले क्षति पुगेको थियो । त्यहाँ केही दिनअघि मात्र यातायात सञ्चालनमा आएको थियो । सडक सञ्चालनमा आएसँगै दशैँका लागि सामान झिकाउन सहज भएको भन्दै स्थानीय र व्यापारीले खुसी व्यक्त गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे