
काठमाडौँ । ज्योति विकास बैंक को चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा उल्लेखनीय रूपमा वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकले ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ३० करोड ६६ लाख रुपैयाँको तुलनामा १०५.३० प्रतिशतले बढी हो ।
उक्त अवधिमा बैंकको वितरणयोग्य नाफा भने अझै ऋणात्मक अवस्थामा रहेको छ । चालु वर्षमा ४३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको यो सूचक गत वर्षको सोही अवधिमा ५६ करोड ८७ लाख रुपैयाँ ऋणात्मक थियो । बैंकको खुद ब्याज आम्दानीमा सामान्य ०.७८ प्रतिशत वृद्धि भए पनि इम्पेयरमेन्ट खर्च उल्लेखनीय रूपमा घटेर ५२ करोड १६ लाख रुपैयाँबाट ११ करोड ८४ लाख रुपैयाँमा सीमित भएपछि नाफा बढ्न मुख्य योगदान पुगेको हो ।
नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७९ पैसाले बढेर १९ रुपैयाँ ०९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ४३ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १९.४३ गुणा रहेको छ ।
समीक्षा अवधिमा बैंकले ६४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो असारको तुलनामा क्रमशः ६.६३ प्रतिशत र ६.०९ प्रतिशतले बढी हो । ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ७८ करोड रुपैयाँ सञ्चित रहेको छ । सञ्चालन मुनाफा १०५.२७ प्रतिशतले बढेर ८९ करोड ९० लाख रुपैयाँ पुगेको छ भने शुल्क तथा कमिसन आम्दानी ५५.३६ प्रतिशतले वृद्धि भएको छ ।
यद्यपि, बैंकको खराब कर्जा दर भने बढ्दो देखिएको छ । कुल खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.८३ प्रतिशत पुगेको छ भने शुद्ध खराब कर्जा १.३७ प्रतिशतबाट २.३६ प्रतिशतमा पुगेको छ । यसैगरी प्राथमिक पुँजी अनुपात ८.८६ प्रतिशत, कुल पुँजी अनुपात १३.६९ प्रतिशत, आधार दर ५.९५ प्रतिशत, फैलावट दर ४.१७ प्रतिशत र कर्जा–निक्षेप अनुपात ८१.४५ प्रतिशत कायम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे