
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन पाइएका ‘डाबर हनी’ बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश जारी गरेको छ । विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ न्यूनस्तरको भेटिएको जनाएको हो ।
विभागद्वारा प्रकाशित सूचनाअनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम डाबर नेपाल प्रालिद्वारा उत्पादित ‘डाबर हनी’ को सम्बन्धित ब्याच नम्बरका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ । साथै ऐनको दफा ३८(४) अनुसार उक्त उत्पादनको बिक्री–वितरण नगर्न वा नगराउन पनि आदेश जारी गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार ‘NB00477’ ब्याच नम्बर रहेको ५०० ग्राम प्याकिङको ‘डाबर हनी’ परीक्षणका क्रममा गुणस्तर मापदण्डअनुसार नदेखिएको हो । सो उत्पादनको उपभोग्य मिति २०२५ डिसेम्बरसम्म रहेको उल्लेख गरिएको छ ।
महानिर्देशकको निर्देशनअनुसार सम्बन्धित उत्पादक कम्पनीलाई आदेश जारी गरिएको विभागले जनाएको छ । विभागले उपभोक्तालाई पनि उक्त ब्याच नम्बरको उत्पादन खरिद तथा उपभोग नगर्न सचेत गराएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे