
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने औषधी सेवामा गम्भीर कमजोरी देखिएको छ । महालेखापरीक्षकको कार्यमूलक लेखापरीक्षण प्रतिवेदनअनुसार बीमित सेवाग्राहीले चिकित्सकले सिफारिस गरेका सबै औषधी अस्पतालबाट नपाउँदा बाहिरबाट खरिद गर्न बाध्य भएको अवस्था देखिएको हो ।
प्रतिवेदनका क्रममा नर्भिक अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायत उपत्यकाका विभिन्न अस्पतालमा आएका १५० जना बीमित सेवाग्राहीसँग प्रश्नावलीमार्फत प्रतिक्रिया संकलन गरिएको थियो । सर्वेक्षणमा सहभागीमध्ये केवल १९ प्रतिशतले मात्र चिकित्सकले सिफारिस गरेका सबै औषधी स्वास्थ्य बीमाअन्तर्गत प्राप्त भएको बताएका छन् । ७३ प्रतिशतले आंशिक रूपमा मात्रै औषधी पाएको र ८ प्रतिशतले कुनै पनि औषधी प्राप्त नभएको उल्लेख गरेका छन् ।
यसले अस्पताल तथा स्वास्थ्य संस्थाले आवश्यक मागअनुसार औषधी उपलब्ध गराउन नसकेको र बीमितले स्वास्थ्य बीमाको पूर्ण लाभ लिन नसकेको प्रतिवेदनमा उल्लेख छ । महालेखाले बीमा योजनाअन्तर्गत समेटिएका औषधीको नियमित तथा प्रभावकारी आपूर्ति व्यवस्थापन गर्न आवश्यक रहेको औंल्याएको छ ।
औषधी प्राप्तिमा देखिएको समस्याबारे गरिएको अर्को विश्लेषणमा औषधी नपाएको वा आंशिक रूपमा मात्रै पाएको बताएका १२१ सहभागीमध्ये ५७ प्रतिशतले औषधी उपलब्ध नभएको, २१ प्रतिशतले मौज्दात सकिएको, १७ प्रतिशतले बीमाअन्तर्गत लागू नहुने र ५ प्रतिशतले प्रणाली सञ्चालनमा समस्या रहेको कारण बताएका छन् ।
प्रतिवेदनले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत औषधीको पर्याप्त उपलब्धता र व्यवस्थापन कमजोर रहेको निष्कर्ष निकालेको छ । औषधी आपूर्ति प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सुधार गर्नुपर्ने सुझाव दिइएको छ ।
त्यसैगरी, अस्पतालमा आवश्यक औषधी नपाउँदा अधिकांश बीमितले बाहिरबाट औषधी खरिद गर्नुपरेको देखिएको छ । रकम खुलाएका १२६ सहभागीमध्ये ७६ प्रतिशतले वार्षिक २० हजार रुपैयाँसम्म, १६ प्रतिशतले २० हजारदेखि ५० हजार रुपैयाँसम्म तथा ८ प्रतिशतले ५० हजारदेखि १ लाख रुपैयाँसम्मको औषधी बाहिरबाट खरिद गरेको बताएका छन् ।
महालेखाले अस्पतालमा सूचीकृत औषधी उपलब्ध नहुँदा बीमितमाथि थप आर्थिक भार परेको र यसले स्वास्थ्य बीमा कार्यक्रमप्रतिको सन्तुष्टि तथा विश्वसनीयता घटाउन सक्ने उल्लेख गरेको छ । अतिरिक्त खर्च कम गर्न सूचीकृत औषधीको उपलब्धता सुनिश्चित गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।
यद्यपि, स्वास्थ्य बीमाले उपचार खर्च घटाउन केही सकारात्मक योगदान गरेको देखिएको छ । सर्वेक्षणमा सहभागीमध्ये ८० प्रतिशतले स्वास्थ्य बीमाले वार्षिक २० हजार रुपैयाँसम्म उपचार खर्च घटाउन सहयोग गरेको बताएका छन् । १३ प्रतिशतले ५० हजार रुपैयाँसम्म र ७ प्रतिशतले १ लाख रुपैयाँसम्म खर्च घटाउन सहयोग पुगेको बताएका छन् ।
प्रतिवेदनले स्वास्थ्य बीमाले उपचार खर्चमा राहत दिएको भए पनि अधिकांश बीमितले सीमित लाभ मात्रै पाएको देखिएको उल्लेख गर्दै औषधी तथा उपचार सेवाको पहुँच र गुणस्तर सुधार गरी बीमितले अधिकतम लाभ प्राप्त गर्ने अवस्था सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे