२०८१ बैशाख २१, शुक्रबार
काठमाडौँ, १५ पौष । गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर पुस १५ गते तमु ल्होसार पर्व मनाउँदैछ। ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।
‘तमु संस्कृतिअनुसार चरालाई शान्तिको प्रतिक मानिने भएकाले पुस १५ गते आइतबारदेखि शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाइन्छ ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएका क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको छ । यस पर्वका अवसरमा गण्डकी प्रदेशले सार्वजनिक बिदा दिएको छ। यसअवसरमा टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ।
वर्षलाई १२ वटा जीवजन्तुको प्रतीकका रुपमा लिइने चलनअनुसार मनाइन लागेको यो पर्वको गुरुङ जातिको आफ्नो छुट्टै मौलिक परम्परा र इतिहास बोकेको पर्व रहेको छ ।
यसैबीच सरकारले आज सार्वजनिक विदा दिएको छ। पर्वका अबसरमा देशैभरि सार्वजनिक विदा दिइएको गृहमन्त्रालयले जनाएको छ। यता, ‘तमु ल्होसार’का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका प्रमुखले पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे