
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूले तोकिएकोभन्दा बढी शुल्क लिएको गुनासो बढेपछि उजुरी दर्ताका लागि हेल्पडेस्क सञ्चालनमा ल्याएको छ। मन्त्रालयअन्तर्गतको शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रमार्फत उक्त सेवा सुरु गरिएको हो।
हेल्पडेस्क सञ्चालनको जिम्मेवारी केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरलाई दिइएको छ। अभिभावक तथा सरोकारवालाले निजी विद्यालयले अतिरिक्त शुल्क लिएको भए सिधै ९८५११२१४६३८ नम्बरमा फोन गरी उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले सबै निजी विद्यालयलाई निर्धारित शुल्कभन्दा बढी रकम नलिन स्पष्ट निर्देशन दिएको छ। यदि कसैले नियम उल्लङ्घन गर्दै अतिरिक्त शुल्क असुल गरेको पाइएमा सो रकम अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।
शिक्षा ऐन २०२८ अनुसार तोकिएको मापदण्ड विपरीत शुल्क लिने विद्यालयमाथि कारबाही हुने जनाइएको छ। यस्तो अवस्थामा सम्बन्धित विद्यालयलाई बढी लिएको शुल्क फिर्ता गराउनुका साथै २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकाको शिक्षा सम्बन्धी अधिकार सुनिश्चित गर्न सचेत रहन आग्रह गर्दै कुनै पनि अनियमितता देखिए तत्काल जानकारी गराउन अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे