
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन एमबिएल एम स्मार्ट (‘MBL M-Smart’) मार्फत नेपाल–भारत–नेपाल रियल टाइम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार यो सेवाले नेपाल र भारतबीच व्यक्ति–देखि–व्यक्ति आधारमा सुरक्षित, सहज र तत्काल रकम स्थानान्तरण गर्ने सुविधा प्रदान गर्नेछ।
नयाँ सेवामार्फत भारतमा बसोबास, अध्ययन वा रोजगारी गरिरहेका नेपाली नागरिकहरूले त्यहाँ प्रचलित युपिआई-आधारित डिजिटल भुक्तानी एप प्रयोग गरी नेपालस्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीको बैंक खातामा सहज रूपमा रकम पठाउन सक्नेछन्। यसरी पठाइएको रकम लाभग्राहीको खातामा तत्काल जम्मा हुने भएकाले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध हुने बैंकले जनाएको छ।
त्यसैगरी नेपालमा बसोबास गर्ने वा नेपालमा कार्यरत भारतीय नागरिकहरूले पनि एमबिएल एम स्मार्ट एपमा उपलब्ध क्रस बोर्डर ट्रान्सफर सुविधामार्फत भारतमा रकम पठाउन सक्ने व्यवस्था गरिएको छ। यस सेवाले दुई देशबीचको डिजिटल वित्तीय पहुँच विस्तार गर्नुका साथै सीमापार भुक्तानी प्रणालीलाई थप सहज बनाउने छ।
बैंकले सेवा सञ्चालनका क्रममा सुरक्षा, पारदर्शिता तथा नियामकीय अनुपालनका उच्चतम मापदण्डलाई प्राथमिकतामा राखिएको जनाएको छ। यस पहलले नेपाल र भारतबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स प्रणालीलाई थप सुदृढ बनाउने र ग्राहकलाई आधुनिक, सुरक्षित तथा सुविधाजनक बैंकिङ सेवा प्रदान गर्ने छ।
माछापुच्छ्रे बैंकले आगामी दिनमा पनि प्रविधिमैत्री, ग्राहककेन्द्रित तथा नवीन वित्तीय सेवाहरू विस्तार गर्दै डिजिटल बैंकिङ क्षेत्रमा थप अत्याधुनिक सेवा सुविधा उपलब्ध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे