
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पछिल्ला केही दिनदेखि विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीसँग लगातार भेटघाट र छलफल गरिरहेका छन्। यही क्रममा आज (शुक्रबार) उनले ऊर्जा क्षेत्रमा काम गर्ने उद्यमी तथा व्यवसायीहरूसँग पनि छलफल गर्ने भएका छन्। यो भेटवार्ता बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने तय गरिएको छ।
प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा देखिएका समस्या, लगानीको वातावरण, विद्युत् उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित चुनौतीबारे उद्यमीहरूको धारणा सुन्न उनीहरूलाई छलफलका लागि बोलाएका हुन्। ऊर्जा व्यवसायीहरूले आफूहरूले भोगिरहेका व्यावहारिक समस्या, सरकारी नीतिका कारण आएका कठिनाइ र समाधानका सम्भावित उपायबारे आफ्ना सुझाव राख्ने अपेक्षा गरिएको छ।
सरकारले ऊर्जा क्षेत्रलाई देशको आर्थिक विकासको प्रमुख आधार मान्दै यस क्षेत्रका समस्या समाधान गर्न आवश्यक पहल गर्ने संकेत दिएको छ। आजको छलफलबाट ऊर्जा क्षेत्रमा देखिएका अवरोध हटाउने, निजी क्षेत्रसँगको सहकार्य बढाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने विषयमा सकारात्मक निष्कर्ष निस्कने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे