२०८० आश्विन १७, बुधबार
काठमाडौं– प्रणालीमा देखिएको तरलता अभावले बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानीमा चाप परेको देखिन्छ । केन्द्रीय बैंकको पछिल्लो विवरण अनुसार औसत कर्जा निक्षेप अनुपात ९०.३१ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले गरेको बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्था अनुरुप यसको व्यवस्थापनमा बैंकहरूलाई कठिन परेको छ । सार्वजनिक विवरणानुसार हालको अवस्थामा बैंकले कर्जा दिन समेत नसक्ने अवस्था देखिएको छ ।
नेपाल राष्ट्र बैंकले २० अर्बको १४ दिन अवधिको रिपो जारी जारी गरेको छ । बैंकले यही मंसिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गरेको हो ।
बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले यसअघि गत कात्तिक २५ मा २० अर्बको रिपो जारी गरेको थियो । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ ।
हाल तरलता व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्दै आएका छन् । केन्द्रीय बैंकका अनुसार अन्तरबैंक सापटीको दर ४.९६ प्रतिशत पुगेको छ । त्यस्तै चालु आवमा बुधबारसम्म बैंक तथा वित्तीय संस्थाले १७ खर्ब ५९ अर्ब ९२ करोड ८५ लाख अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन् । बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरे पनि तरलता व्यवस्थापन भने सहज हुन सकेको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे