
काठमाडौँ । ज्योतिप्रकाश पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेको छ । सिआईबी स्रोतका अनुसार स्मार्ट टेलिकमसँग सम्बन्धित प्रकरणमा अनुसन्धानका लागि उनलाई बुधबार बिहान नियन्त्रणमा लिइएको हो ।
प्रहरी स्रोतका अनुसार पाण्डेसँग घटनाबारे बयान लिइरहेको छ र अनुसन्धानको क्रममा आवश्यकताअनुसार थप प्रक्रिया अघि बढाइने जनाइएको छ । प्रारम्भिक अनुसन्धानपछि बयान लिएर छाड्न सकिने सम्भावना पनि रहेको बताइएको छ ।
यसअघि स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पनि सिआईबीले पक्राउ गरिसकेको छ । उनलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको थियो ।
स्मार्ट टेलिकम हाल सञ्चालनमा छैन । नवीकरण प्रक्रिया पूरा नगरेपछि कम्पनीको अनुमति पत्र २०८० वैशाख ३ गते स्वतः खारेज भएको थियो । त्यसपछि कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो ।
अनुसन्धान अधिकारीहरूका अनुसार कम्पनीको सम्पत्ति व्यवस्थापनका क्रममा सरकारको अधिकार प्रभावित हुने गरी बेइमानीपूर्ण कार्य भएको आशंकामा अनुसन्धान अघि बढाइएको हो । सोही प्रकरणमा जोडिएका विभिन्न पक्षमाथि सिआईबीले अनुसन्धान विस्तार गरेको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे