
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले आफूले पदमा रहँदा के–कस्ता गलत काम नगर्ने भन्ने स्पष्ट रूपमा सार्वजनिक गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत करिब पाँच हप्ता अघि जिम्मेवारी सम्हालेपछि आफ्ना प्रतिबद्धता नागरिकसमक्ष राखेकी हुन्।
मन्त्री बादीले नातावाद, भनसुन, घुसखोरी र भ्रष्टाचारजस्ता काममा कुनै हालतमा संलग्न नहुने बताएकी छन्। चिनजान, नाता वा दबाबका आधारमा जागिर लगाउने, सरुवा–बढुवा मिलाउने वा कसैलाई फाइदा पुर्याउने काम नगर्ने उनले स्पष्ट पारेकी छन्। साथै, कानुनविपरीत काम गर्ने व्यक्तिलाई जोगाउने वा उनीहरूलाई कारबाहीबाट बचाउने काम पनि नगर्ने बताइन्।
उनले लागूऔषध, ठगी, तस्करी वा हिंसाजस्ता अपराधमा संलग्न कसैलाई पनि संरक्षण नगर्ने उल्लेख गरेकी छन्। कुनै पनि बहानामा कमिसन वा घुस नलिने र त्यस्तो काम भएको थाहा पाएमा त्यसविरुद्ध उभिने उनको प्रतिबद्धता छ।
मन्त्री बादीले महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक र अन्य कमजोर समुदायमाथि हुने अन्यायविरुद्ध सधैं लड्ने बताएकी छन्। साथै, सरकारी स्रोत–साधनको दुरुपयोग नगर्ने र सबै नागरिकलाई समान रूपमा सेवा दिने उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे