
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को महत्वपूर्ण खेलमा जापानले ट्युनिसियामाथि प्रभावशाली प्रदर्शन गर्दै ४–० को जित निकालेको छ। पहिलो खेलमा अपेक्षित नतिजा निकाल्न नसकेका दुवै टोलीका लागि यो खेल निर्णायक मानिएको थियो, तर जापानले सुरुदेखि नै खेलमा नियन्त्रण कायम गर्दै महत्वपूर्ण तीन अंक आफ्नो पक्षमा पार्न सफल भयो।
जापानको जितमा डाइची कामादा र आयासे उएदाले गोल गर्दै टोलीलाई सहज अवस्थामा पुर्याएका थिए। आक्रमण र बल नियन्त्रण दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको जापानले ट्युनिसियालाई खेलभर दबाबमा राख्यो। ट्युनिसियाले केही अवसर सिर्जना गरे पनि जापानी रक्षापंक्तिलाई भेद्न सकेन।
यस जितसँगै जापानले समूह चरणबाट अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ भने ट्युनिसिया दबाबमा परेको छ। समूह ‘एफ’ को अर्को खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ ले पराजित गरेपछि समूहको प्रतिस्पर्धा थप रोचक बनेको छ।
यो जितसँगै नेदरल्यान्ड्स चार अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ। विश्वकप इतिहासमा नेदरल्यान्ड्सले पाँच गोल गरेको यो चौथो अवसर हो भने सन् २०१४ मा स्पेनलाई ५–१ ले हराएयताको सबैभन्दा ठूलो जितसमेत बनेको छ।
अर्को खेलमा जर्मनीले आइभरी कोस्टलाई २–१ ले हराउँदै १२ वर्षपछि विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। निर्धारित समयसम्म बराबरीतर्फ उन्मुख खेलमा जर्मनीले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।
यसैबीच प्रतियोगिताको अर्को आश्चर्यजनक नतिजामा कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्दै विश्वकप इतिहासकै पहिलो अंक प्राप्त गरेको छ। अपेक्षाकृत कमजोर मानिएको टोलीले बलियो प्रतिद्वन्द्वीविरुद्ध अंक खोस्दै प्रतियोगितामा आफ्नो छाप छोड्न सफल भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे