
काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पस्दा पानी अत्यधिक धमिलो भएको छ। यही कारण काठमाडौँ उपत्यकामा मेलम्चीबाट आउने खानेपानीको आपूर्ति आजदेखि अस्थायी रूपमा रोकिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार धमिलो पानी सिधै प्रशोधन गर्न कठिन हुने भएकाले सुरक्षा र गुणस्तरलाई ध्यानमा राख्दै सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी पठाउन रोकिएको हो। अहिले मुहानको पानी सफा हुने अवस्था हेरिएको छ। पानीको गुणस्तर सुधार भएपछि पुनः प्रशोधन प्रक्रिया सुरु गरिने र पहिलेकै वितरण तालिकाअनुसार उपभोक्तालाई खानेपानी उपलब्ध गराइने केयुकेएलले जनाएको छ।
त्यसैले मेलम्चीको पानीमा निर्भर रहेका काठमाडौँ, ललितपुर र भक्तपुरका धेरै उपभोक्ताले केही समय पानीको अभाव झेल्नुपर्ने हुन सक्छ। यदि वर्षा लगातार भइरह्यो र मुहानको पानी धमिलो नै रह्यो भने आपूर्ति सामान्य अवस्थामा फर्किन अझ केही समय लाग्न सक्छ। केयुकेएलले उपभोक्तालाई उपलब्ध पानीको सावधानीपूर्वक प्रयोग गर्न र आवश्यक परे वैकल्पिक स्रोतको व्यवस्था गर्न आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे