
काठमाडौं । आन्तरिक राजस्व विभागको परीक्षणमा वार्षिक रु. ४० लाखभन्दा बढी आय हुने सयौँ करदाताले अनिवार्य रूपमा पेस गर्नुपर्ने ‘डे–४ विवरण’ नबुझाएको पाइएको छ। आयकर ऐन, २०५८ को दफा ९६ अनुसार कुनै प्राकृतिक व्यक्तिको एक आय वर्षमा रु. ४० लाखभन्दा बढी आय भएमा डे–४ विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। साथै, यस्तो विवरण नबुझाउने करदातालाई एकीकृत कर प्रणालीमार्फत पहिचान गरी कर दाखिलाको जाँच तथा परीक्षण गर्न विभागले मातहतका कार्यालयलाई परिपत्रसमेत गरेको छ।
आन्तरिक राजस्व कार्यालय नयाँसडक, त्रिपुरेश्वर, बुटवल, भरतपुरलगायत २८ कार्यालयअन्तर्गत डे–४ विवरण पेस गर्नुपर्ने करदातामध्ये नमुना छनोट गरी गरिएको परीक्षणमा ४६९ करदाताले विवरण नबुझाएको भेटिएको हो। ती करदाताको आर्थिक वर्ष २०८०/८१ मा कुल रु. ३ अर्ब ९८ करोड ३० लाख आय रहेको देखिए पनि सो आयमा लाग्ने रु. ६७ करोड ९४ लाख आयकर दाखिला नगरेको तथ्य सार्वजनिक भएको छ।
परीक्षणबाट ठूलो परिमाणमा कर दायित्व लुकाइएको देखिएकाले सम्बन्धित करदातामाथि आवश्यक छानबिन गरी बक्यौता कर असुलउपर गर्नुपर्ने औँल्याइएको छ। साथै, उच्च आय भएका करदाताको कर अनुपालन सुनिश्चित गर्न डे–४ विवरणको प्रभावकारी अनुगमन र परीक्षण प्रणालीलाई थप कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे