
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह डी, ई र एफका अन्तिम खेल सम्पन्न भएसँगै नकआउट चरण पुग्ने थप टोलीहरूको टुंगो लागेको छ। जर्मनी, नेदरल्यान्ड्स र अमेरिका आ–आफ्नो समूहको शीर्ष स्थानमा रहँदा जापान, आइभरी कोस्ट, अष्ट्रेलिया, इक्वेडर र स्विडेनले पनि अन्तिम ३२ मा स्थान सुरक्षित गरेका छन्। यद्यपि समूह डीको तेस्रो स्थानमा रहेको पाराग्वेको भविष्य भने अन्य समूहका नतिजामा निर्भर रहने भएको छ।
समूह एफमा जापान र स्विडेनबीच १–१ को बराबरी भएपछि दुवै टोलीले नकआउट चरणको यात्रा तय गरे। दोस्रो हाफमा डाइजन माइडाले जापानलाई अग्रता दिलाए पनि एन्थोनी एलाङ्गाले उत्कृष्ट गोल गर्दै स्विडेनलाई बराबरीमा फर्काएका थिए। बराबरीसँगै जापान समूह उपविजेता बनेको छ भने नेदरल्यान्ड्स समूह विजेताका रूपमा अघि बढेको छ। अब जापानले अन्तिम ३२ मा ब्राजिलको सामना गर्नेछ भने नेदरल्यान्ड्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ।
नेदरल्यान्ड्सले आफ्नो अन्तिम खेलमा ट्युनिसियालाई ३–१ ले पराजित गर्दै समूह चरण प्रभावशाली रूपमा टुंग्यायो। खेलको सुरुआतमै आत्मघाती गोलको उपहार पाएको डच टोलीका लागि ब्रायन ब्रोबी र जान पाउल भान हेकेले गोल थपे। ट्युनिसियाका हाजेम मास्तौरीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
समूह ईमा इक्वेडरले जर्मनीलाई २–१ ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गर्यो। खेलको दोस्रो मिनेटमै लिरोय सानेले जर्मनीलाई अग्रता दिलाएका थिए। त्यसपछि निल्सन आङ्गुलो र गोन्जालो प्लाटाले गोल गर्दै इक्वेडरलाई ऐतिहासिक जित दिलाए। हारका बाबजुद जर्मनी समूह विजेताका रूपमा अघि बढ्न सफल भयो।
यसै समूहको अर्को खेलमा आइभरी कोस्टले कुरासाओलाई २–० ले हराउँदै दोस्रो स्थान सुरक्षित गर्यो। निकोलस पेपेले दुवै गोल गर्दै टोलीलाई सहज जित दिलाए। विश्वकपमा पहिलो पटक सहभागी भएको कुरासाओ भने समूह चरणबाटै बाहिरिएको छ।
समूह डीमा अष्ट्रेलियाले पाराग्वेसँग गोलरहित बराबरी खेल्दै चार अंकसहित दोस्रो स्थानमा रहेर अन्तिम ३२ मा स्थान बनायो। पाराग्वे तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो स्थानका टोलीको सूचीमार्फत अघि बढ्ने सम्भावना कायम छ।
समूह डीकै अर्को खेलमा टर्कीले अमेरिकालाई ३–२ ले पराजित गर्दै प्रतियोगिताबाट सम्मानजनक विदाइ लियो। खेलको अन्तिम क्षणमा कान आयहानले निर्णायक गोल गर्दै टर्कीलाई पहिलो जित दिलाएका थिए। हारका बाबजुद अमेरिका समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे