२०८० मंसिर १४, बिहिबार
काठमाडौं, जेठ १३ |सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि आग्रह गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति कार्यालयमा साउनदेखि थन्किएर बसेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न आग्रह गर्ने निर्णय गरेको हो। ‘संवैधानिक व्यवस्थाअनुसार १५ दिनभित्र राष्ट्रपतिले कुनै पनि विधेयक प्रमाणीकरण गर्नुपर्ने हुन्छ,’मन्त्रिपरिषद् स्रोतले भन्यो, ‘संविधानको व्यवस्थाविपरीत तत्कालीन राष्ट्रपतिले प्रमाणीकरण नगरेर थन्क्याइएको नागरिकता विधेयक प्रमाणीकरण गर्र्न आग्रह गर्ने निर्णय भएको छ।’
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघिको संसद्ले पठाएको नागरिकतासम्बन्धी विधेयक संसद्मै फिर्ता गरी दोस्रोपटक पनि प्रमाणीकरण नगरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले केही साताअघि त्यसबारे कानुनी परामर्श गरेका थिए। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले विधेयक अड्काएर राख्ने व्यवस्था नभए पनि त्यसले समयसीमा नाघेकाले प्रमाणीकरणका विषयमा संवैधानिक, कानुनी र राजनीतिक जटिलता देखिएको थियो। राष्ट्रपति पौडेलले अहिलेकै अवस्थामा नागरिकता विधेयक प्रमाणीकरणका लागि आफूलाई टेक्ने आधार चाहिने भन्दै सरकार र कानुनविद्हरूसँग परामर्श गरेका थिए।
मन्त्रिपरिषद् बैठकले कानुनविद् र संवैधानिक व्यवस्थालाई देखाउँदै विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गरेको छ। अब राष्ट्रपति पौडेलले मन्त्रिपरिषद् बैठकको निर्णयलाई आधार मान्दै शीतल निवासमा थन्किएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने स्रोतको दाबी छ। ‘संवैधानिक राष्ट्रपतिले सरकार र मन्त्रिपरिषद्ले गरेको निर्णय मान्दिनँ र गर्दिनँ भन्न मिल्दैन,’निकट स्रोतले भन्यो, ‘मन्त्रिपरिषद् निर्णयलाई संवैधानिक राष्ट्रपतिले दायाँबायाँ गर्न मिल्दैन। मन्त्रिपरिषद्ले विधेयक प्रमाणीकरण गर्न भन्यो भने गर्नुको विकल्प राष्ट्रपतिसँग हुँदैन।’
नागरिकतामाथि इतिहासले छाडेको प्रश्न र वर्तमानले उब्जाएका समस्या समाधान गरी अगाडि बढ्नुपर्ने तर्कसहित प्रतिनिधिसभा र राष्ट्रियसभाबाट ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’माथि तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्। तीन वर्षदेखि संघीय संसद्मा विचाराधीन नागरिकता विधेयक पारित भएर २०७९ साउनमा राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुगेको थियो। त्यसलाई तत्कालीन राष्ट्रपतिले ‘होल्ड’गरेर राखेकी थिइन्।आजको नागरिक दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे