२०८० मंसिर १७, आईतबार
काठमाडौँ, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्धा आजबाट बयान सुरु हुने भएको छ ।
काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ ।
बयान र थुनछेक प्रयोजनका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पेसी तोकिएको छ । गोला प्रकृयाबाट भएको पेसीमा न्यायाधीश न्यौपानेको इजलासमा उक्त मुद्दा परेको हो ।
सरकारी वकिल कार्यालयले पक्राउ परेका १६ जना र फरार रहेका १४ गरी कुल ३० जनाविरुद्ध चारवटा छुट्टाछुट्टै दायर गरेको मुद्दामा शुक्रबारबाट न्यायाधीशसमक्ष बयान सुरु हुन लागेको हो ।
बुधबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा ३० जनाविरुद्ध २२४ पृष्ठ लामो अभियोग पत्र दायर गरेको थियो ।
उक्त प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्वित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।
यस्तै पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा, इन्द्रजित राईका छोरा निरज राई,लक्ष्मी महर्जन, अशोक पोखरेल, दिपा हुमागाञी, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल र सुनिल बुढाथोकी फरार छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे