२०८० आश्विन १७, बुधबार
काठमाडौं– मासु व्यवसायीहरुले दसैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपी आफूखुसी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीले बताएका हुन् । आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसोसहितको १२०० र ग्राहकले रोजेअनुसार ह्याकुलासहितको मासुको मूल्य १३०० निर्धारण गरिएको हो । यस्तै कुखुराको मासु प्रतिकिलो ३०० तथा राँगा र बंगुरको मासु प्रतिकिलो पाँच–पाँच सय रुपैयाँ तोकिएको छ ।
राष्ट्रिय मासु व्यवसायी संघले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको हो । संघका अध्यक्ष रमेश खड्गीले खसी तथा बोकाको तीनथरि मूल्य निर्धारण गरिएको बताए ।
‘संघबाट सबै मासु पसललाई निर्धारण गरिएको मूल्य कार्यान्वयनमा ल्याउन मूल्य सूची टाँस्न हामीले निर्देशन दिइसकेका छौं । तोकिएको मूल्यअनुसार मासु बिक्री वितरण नभए संघबाट कारबाही हुन्छ,’ उनले भने ।
अन्य समयको तुलनामा दसैंमा कुखुरा र बंगुर मासुको खपत कम हुने गरेको छ । खड्गीका अनुसार खपत कम हुने मासुको मूल्यमा तलमाथि भए पनि खसी, बोका तथा राँगाको मूल्य दसैंको अवधिमा परिवर्तन हुने छैन । यही असोज ६ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैंका लागि मासुको गुणस्तर, मूल्य र सरसफाइमा ध्यान दिन निर्देशन दिएको थियो ।
मासु व्यवसायीसँग छलफल गर्दै विभागले गुणस्तरसँगै मूल्यमा एकरुपता ल्याउन आग्रह गरेकाले संघले मूल्य निर्धारण गरेको हो । चीनबाट च्यांग्रा नआउँदा स्वदेशी च्यांग्र्राको मूल्य यस वर्ष दोब्बर हुने भएको छ । मुस्ताङमा उत्पादन कम र माग उच्च भएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन् ।
अध्यक्ष खड्गीले गत वर्षको तुलनामा यस वर्ष च्यांग्राको मूल्य बढ्ने बताए । चीनबाट च्यांग्रा आएको छैन । देशमा उत्पादन भएका च्यांग्रा कम हुँदा व्यवसायीले आफूखुसी मूल्य बढाउने गरेका छन् । संघका अनुसार गत वर्ष जिउँदो च्यांग्रा प्रतिकिलो ७०० देखि ८०० र मासु दुई हजारसम्ममा बिक्री भएकामा यस वर्ष प्रतिकिलो जिउँदो च्यांग्रा नै १२ देखि १५ सयसम्म पुग्ने अनुमान गरिएको छ । नेपाल चौपाया खरिद, बिक्री तथा कृषि फार्म गुप्रका अध्यक्ष दीपक थापाले पर्याप्त मात्रामा खसी, बोकाको आयात भएको बताए । उनले व्यवसायीले आवश्यक पर्ने खसी, बोका ल्याइसकेकाले दसैंका लागि मासुको अभाव नहुने जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार गत वर्षको तुलनामा यस वर्ष मूल्य झण्डै दोब्बर भएपछि व्यवसायीले च्यांग्रा कम ल्याउने भएका छन् । गत वर्ष काठमाडौं उपत्यकामा सात हजार च्यांग्रा बिक्री गरिएकामा यस वर्ष चार हजारजति मात्र बिक्री गर्ने तयारी छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे