धादिङका युद्ध न्यौपाने दोस्रो कृषि ताराको विजेता बनेका छन् । बिहिबार राजधानीमा इजरायली दूतावासले आयोजना गरेको एक कार्यक्रमका बिच न्यौपानेलाई दोस्रो कृषि ताराको अवार्ड प्रदान गरिएको हो । इजरायली दूतावास र अवसर फाउण्डेशनले इजरायलबाट कृषि प्रशिक्षण लिएर फर्किएकाहरु मध्येबाट एक जनालाई उत्कृष्ट कृषि तारा अवार्ड दिएको हो ।
कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव तथा नेपालस्थित इजरायली राजदूत हनान गोडार लगायतले ५ लाखसहित प्रमाणपत्र प्रदान गरे । इजरायलबाट कृषि तालिम सकेर फर्किएपछि व्यवसायीक कृषि कर्ममा लागेका युवाहरू मध्येबाट न्यौपाने उत्कृष्ट भएका हुन्। उनले अहिले ७० रोपनी कृषि गरिरहेका छन् । उनले पुरस्कार पाएका ५ लाख रुपैयाँले राम्रो नर्सरी संचालन गर्ने पनि बताए । उनले खुसी हुँदै भने,‘जुन विश्वासका साथ मलाई विजेता बनाउँनु भएको छ । म त्यो विश्वास कहिले पनि गुम्न दिने छैन । यो पैसाले म राम्रो नर्सरी संचालन गर्छु ।’
यता कार्यक्रममा बोल्दै इजरायली राजदूत हनान गोडरले कृषि सोख हैन, व्यवसाय भएको बताए । कृषि बिना कुनै पनि देशको विकास सम्भव नभएको भन्दै उनले कृषिको उत्पादनमा ध्यान दिनु पर्ने बताए ।
यसका साथै कृषिमा मेहनत र आधुनिक प्रविधिले नै इजरायल कृषिमा सफल भएको उनी बताउँछन् । ‘कडा मेहनत र आधुनिक प्रविधिले इजरायल सफल भएको छ’ उनले भने,‘नेपालले पनि ती कुरामा ध्यान दिन जरुरी छ । कसरी थोरै जग्गामा धेरै उत्पादन गर्न सकिन्छ त्यो तर्फ ध्यान जान जरुरी छ ।’
देशै भरिबाट छनौटमा परेका १० यूवा कृषकहरुमध्येबाट न्यौपाने उत्कृष्ट घोषित भएका थिए । उत्कृष्ट दशमा नवीन जोशी, दीप नारायण राउत, सशिन कर्माचार्य, सङ्कर सिलवाल, बाबुराम केसी, अनिल दमाई, विजय गाउली, प्रवीण राजवंशी र रामहरि रोइला रहेका थिए । उनीहरूले तरकारी खेती तथा पशुपन्छी पालन गर्दै आएका थिए ।
यस्तै कार्यक्रममा कृषि मन्त्री यादवले कृषिमा इजरायल सरकारले प्रयोग गरेको प्रविधि नेपाली किसानमा प्रयोग गर्ने वातावरण सरकारले तय गर्ने बताएका छन् । उनले भने,‘इजरायल जुन टेक्नोलोजीको प्रयोगले सफल बनेको छ । त्यो प्रविधि नेपालले पनि लागु गर्छ । त्यसको लागि सरकारले वातावरण बनाउँछ ।’
यसका साथै कृषि क्षेत्रमा इजरायल सरकारले धेरै सहयोग गरेको पनि उनी बताउँछन् । ‘इजरायले नेपालको कृषिमा गरेको योगदानको म धेरै सराहना गर्छु’ उनले भने,‘नेपाल र इजरायलको धेरै पुरानो र गहिरो सम्बन्ध छ ।’
इजरायल सानो देश भए पनि नेपालको सुख: दुख: र आफ्नो सुख: दुख: सम्झेर सहयोग गरेको पनि उनले बताए । नेपालले पनि इजरायलले जस्तै थोरै जग्गामा धेरै उत्पादनमा ध्यान दिनु पर्ने उनले बताए।