काठमाडौँ , १३ भाद्र | महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराउपरको बयानका क्रममा सोधिने प्रश्नावलीको तयारी थालेको छ ।
समितिले महाभियोग प्रस्तावमा उल्लेखित २१ विषयलाई नै मूल प्रश्न र प्रमाण सङ्कलनका क्रममा आएका विषयलाई समेत समेटेर प्रश्नावलीको मस्यौदा गरिरहेको छ ।
आइतबारसम्म इमेल र स्वयं उपस्थित भएर करिब दसवटा (व्यक्ति/समूहले) प्रमाण पेस गरेका छन् । ती प्रमाणलाई समेत आधार मानेर समिति सचिवालयले प्रश्नको मस्यौदा गरेको छ । सचिवालयले तयार पारेको प्रश्नावली आधार मानेर नै बयानको प्रक्रिया अघि बढ्नेछ ।
महाभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले प्रस्तावमा उल्लेखित मूल विषय र प्रमाण सङ्कलनका क्रममा आएका विषयलाई समेटेर सचिवालयले प्रश्नावली बनाउने बताउनुभयो । गौतमले भन्नुभयो, “मूल प्रश्न त महाभियोग प्रस्तावमा उल्लेख भएकै छन् । २१ विषय त्यहाँ समेटिएका छन् ।
अब प्रमाण सङ्कलनका क्रममा आएका विषयलाई पनि समेटेर हामीले प्रश्नावलीका रूपमा विकास गछौँ । प्रश्न त त्यहाँ माननीयज्यूहरूले पनि तयार पार्नुहोला । हामीले विषय नछुटून् भन्नका लागि सहजीकरणको दस्तावेज बनाउँछौँ ।”
यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे