
काठमाडौँ, ७ भाद्र । बैतडीका दुई ठाउँमा बम जस्तै शंकास्पद वस्तु भेटिएको छ । जिल्लाको सतबाँझ क्षेत्रमा सडकमा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सतबाँझको भण्डारी आयलस्टोर नजिकै सडक किनारमा प्रेसर कुकरमा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ भने अर्को सतबाँझ–गोकुलेश्वर सडकखण्डको बीचमा पनि शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
सडकमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको सेनानी गोविन्द थापाले जानकारी दिए । बम हो कि अथवा अन्य वस्तु हो भन्ने बिषयमा डिस्पोज गरेपछि मात्रै थाहा हुने उनले बताए ।
विप्लव नेतृत्वको नेकपा सहित चार दलिय मोर्चाले आज नेपाल बन्द आह्वान गरेका छन् । उनीहरुले नै सडकमा शंकास्पद वस्तु राखिएको हुन सक्ने अनुमान गरिएको छ ।
यसैबीच नेकपाको बन्दका कारण बैतडीमा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । बन्दका कारण गन्त्वयमा पुग्नुपर्ने नागरिकहरुलाई समस्या भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे