
काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले द्रुत गतिमा परिवर्तन भइरहेको मिडिया तथा विज्ञापन उद्योगका चुनौती, अवसर र भविष्यका सम्भावनाबारे केन्द्रित विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संघको ३६औँ स्थापना दिवसको अवसरमा सञ्चालन भइरहेको एकमहिने कार्यक्रमअन्तर्गत शुक्रबार काठमाडौंको गौशालास्थित होटल बेस्ट वेस्टर्न प्लसमा ‘Evolving Media Landscape and Ever-Transitioning Advertising Business’ विषयमा अन्तरक्रिया आयोजना गरिएको हो।
एड्सारो नेपालको सहयोग तथा एड क्लब नेपाल र आईएए नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा विज्ञापन, सञ्चार, डिजिटल प्रविधि तथा बजार व्यवस्थापनसँग सम्बन्धित विज्ञहरूले नेपालको विज्ञापन उद्योगमा देखिएका पछिल्ला प्रवृत्ति, चुनौती र अवसरबारे विस्तृत छलफल गरेका थिए।
कार्यक्रममा प्रविधिको तीव्र विकाससँगै उपभोक्ताको व्यवहारमा आएको परिवर्तनले विज्ञापन उद्योगको स्वरूप नै बदलिँदै गएको निष्कर्ष निकालिएको थियो। विशेषगरी फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत डिजिटल तथा सामाजिक सञ्जालतर्फ दर्शक र उपभोक्ताको आकर्षण बढेसँगै टेलिभिजन, रेडियो र छापा माध्यममा आउने विज्ञापनको हिस्सा निरन्तर घट्दै गएको विषयलाई प्रमुख चुनौतीका रूपमा औँल्याइएको थियो।
छलफलका क्रममा नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई), डाटा–आधारित मार्केटिङ तथा डिजिटल विज्ञापन व्यवस्थापनका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको, साथै शहरी र ग्रामीण क्षेत्रबीचको डिजिटल साक्षरताको अन्तरले विज्ञापन उद्योगको समग्र विकासमा चुनौती थपेको सहभागीहरूको धारणा थियो।
यद्यपि, यी चुनौतीका बीच नेपाली विज्ञापन एजेन्सी तथा व्यवसायीहरूले परम्परागत विज्ञापन शैलीभन्दा बाहिर निस्किएर डिजिटल तथा इन्फ्लुएन्सर मार्केटिङलाई प्राथमिकता दिन थालेको उल्लेख गरिएको थियो। स्थानीय भाषा, संस्कृति र नेपाली बजारको आवश्यकताअनुसार सिर्जनात्मक डिजिटल सामग्री उत्पादनमा व्यवसायीहरूको सक्रियता बढ्दै गएको भन्दै त्यसको प्रशंसा पनि गरिएको थियो।
कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स र डीपफेक प्रविधिको दुरुपयोगबाट भ्रामक विज्ञापन फैलिन सक्ने जोखिमप्रति पनि चिन्ता व्यक्त गरिएको थियो। सहभागीहरूले विज्ञापन उद्योगमा आचारसंहिता, स्वनियमन तथा जिम्मेवार प्रविधि प्रयोगलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
अन्तरक्रियापछि एड्सारो नेपाल प्रालिका अध्यक्ष सुजन अधिकारीले कम्पनीले विकास गरेको डिजिटल विज्ञापन वितरण प्रणाली तथा त्यसका प्रयोग, प्रभावकारिता र पारदर्शितासम्बन्धी विशेष प्रस्तुति दिएका थिए। उक्त प्रविधिले विज्ञापन वितरणलाई थप सहज, किफायती र नतिजामुखी बनाउने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रमको सञ्चालन नेपाल विज्ञापन संघका कार्यकारी सदस्य प्रभात रिमालले गरेका थिए भने उपाध्यक्ष पंकज प्रधानले स्वागत मन्तव्य व्यक्त गरेका थिए। प्यानल छलफलको सहजीकरण टेक्नोलोजीखबर डटकमका प्रधान सम्पादक अनुजराज ढुङ्गेलले गरेका थिए। छलफलमा आनका कार्यकारी सदस्य दीपेन्द्र टण्डन, बाह्रखरीका प्रधान सम्पादक प्रतीक मान प्रधान, डिजिटल विज्ञापन विज्ञ कश्यप शाक्य तथा सारस बेभरेजेस (रेड बुल नेपाल) का सेल्स एण्ड मार्केटिङ प्रमुख निर्भिक प्रधान सहभागी थिए।
कार्यक्रमको समापन गर्दै नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष सुदीप थापाले आधुनिक प्रविधिको प्रभावकारी उपयोगले नेपाली विज्ञापन उद्योगलाई मात्र नभई सञ्चारमाध्यम र विज्ञापनदातालाई पनि लाभ पुग्ने विश्वास व्यक्त गरे। उनले डिजिटल प्रविधिमार्फत विज्ञापनको प्रभावकारिता मापन, पारदर्शिता अभिवृद्धि तथा उद्योगको दीर्घकालीन विकासमा सकारात्मक योगदान पुग्ने उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संस्था र सहभागीप्रति आभार व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे