
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने प्रतिष्ठित नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२५ अन्तर्गत वित्तीय सेवा क्षेत्रतर्फको गोल्ड अवार्ड प्राप्त गरेको छ।
यससँगै बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ। बैंकले बीपीए अवार्ड–२०२३ मा सिल्भर अवार्ड, बीपीए अवार्ड–२०२४ मा गोल्ड अवार्ड तथा बीपीए अवार्ड–२०२५ मा पुनः गोल्ड अवार्ड प्राप्त गर्दै वित्तीय प्रतिवेदनको गुणस्तर र पारदर्शितामा निरन्तर उत्कृष्टता कायम राखेको हो।
बैंकका अनुसार दक्षिण एसियाकै प्रतिष्ठित साफा (SAFA) अवार्डबाट समेत यसको वार्षिक प्रतिवेदन लगातार सम्मानित हुँदै आएको छ। यसले बैंकले वित्तीय पारदर्शिता, संस्थागत सुशासन तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको वित्तीय प्रतिवेदन प्रस्तुतिमा निरन्तर उत्कृष्ट अभ्यास अवलम्बन गर्दै आएको पुष्टि गरेको जनाएको छ।
आईक्यानले संस्थाहरूको वार्षिक प्रतिवेदनमा वित्तीय विवरणको गुणस्तर, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतिको मूल्याङ्कनका आधारमा प्रत्येक वर्ष बीपीए अवार्ड प्रदान गर्दै आएको छ। उक्त अवार्ड संस्थागत वित्तीय प्रतिवेदनको गुणस्तर अभिवृद्धि र पारदर्शी वित्तीय अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिन्छ।
काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित विशेष समारोहमा आईक्यानका अध्यक्ष नीलबहादुर सारुले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त गोल्ड अवार्ड हस्तान्तरण गरेका थिए।
बैंकले यो सम्मानले वित्तीय पारदर्शिता, उत्तरदायी व्यवस्थापन र सुशासनप्रतिको आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ। आगामी दिनमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुरूप विश्वसनीय, पारदर्शी र गुणस्तरीय वित्तीय प्रतिवेदन तयार गर्दै सरोकारवालालाई समयानुकूल र यथार्थपरक वित्तीय सूचना उपलब्ध गराउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे