
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन्। उनी गएराति चीनतर्फ प्रस्थान गरेका थिए।
बेइजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री खनाल स्थानीय समयअनुसार आज अपराह्न बेइजिङ पुगेका हुन्। विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।
मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आज साँझ स्वागत समारोह आयोजना गरेको छ। उक्त कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।
भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग नेपाल–चीन सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्य विस्तारका विषयमा द्विपक्षीय वार्ता गर्नेछन्। साथै चीनका उच्चस्तरीय अधिकारीहरूसँग अलग–अलग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।
नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यसहित बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनेछन्। सो क्रममा उनले चिनियाँ उद्यमी तथा व्यवसायीसँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ।
मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे