
काठमाडौँ । नेपाली चिया निर्यातमा भारततर्फबाट अवरोध सिर्जना भएपछि इलामका चिया उद्योगीहरूले उद्योग बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको भन्दै १ असारदेखि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको जनाएको छ।
एसोसिएसनका अनुसार भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ मानक सञ्चालन प्रक्रिया (एसओपी) का कारण नेपाली चिया निर्यातमा ठूलो अवरोध सिर्जना भएको छ। जटिल गुणस्तर परीक्षण प्रक्रिया, ढिलासुस्तीपूर्ण नतिजा तथा भण्डारणको अभावका कारण ठूलो परिमाणमा तयारी चिया थन्किएको उद्योगीहरूको भनाइ छ।
एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार हाल करिब १२ लाख किलो तयारी चिया अलपत्र अवस्थामा रहेको छ। त्यसमध्ये २ लाख किलोभन्दा बढी चिया भारतीय गोदाममै रोकिएको तथा बाँकी १० लाख किलोभन्दा बढी चिया नेपालकै उद्योगमा थन्किएको उनले बताए।
उनका अनुसार नमुना परीक्षणका रिपोर्ट महिनौँसम्म नआउने तथा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतमै नष्ट गर्नुपर्ने जस्ता प्रावधानले निर्यात प्रक्रियालाई जटिल बनाएको छ। निर्यात ठप्प भएपछि किसानलाई हरियो पत्तीको भुक्तानीसमेत दिन नसक्ने अवस्था सिर्जना भएको एसोसिएसनले जनाएको छ।
वर्तमान परिस्थितिमा उद्योग सञ्चालन असम्भव भएको भन्दै उद्योगीहरूले सम्पूर्ण चिया उद्योग बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आएको स्पष्ट पारेका छन्। उद्योग बन्द हुँदा किसान, श्रमिक तथा व्यवसायीहरूमा पर्ने असरप्रति क्षमासमेत माग गरिएको छ।
एसोसिएसनले यो समस्याको दीर्घकालीन समाधानका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारसँगै राजनीतिक दल र सरोकारवालाहरूको तत्काल ध्यानाकर्षण र सहयोगको अपिल गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे