
काठमाडौँ । नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै विशेष टिभी प्याकेज सार्वजनिक गरेको छ। आईपी टिभी ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यस प्याकेजमार्फत विश्वकपका सम्पूर्ण रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार ग्राहकहरूले ९९९ रुपैयाँमा उक्त प्याकेज खरिद गरी टेलिभिजनमार्फत विश्वकपका खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। टेलिभिजन सेटमा हिमालय खेलकुद च्यानल चयन गरेपछि आउने इन्ट्री स्क्रिनमा मोबाइल नम्बर राख्दा ओटीपी प्राप्त हुनेछ। उक्त ओटीपी टेलिभिजनमा प्रविष्ट गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट शुल्क कटौती भई प्याकेज तुरुन्त सक्रिय हुनेछ। साथै, नजिकको ग्राहक सेवा केन्द्रमार्फत पनि सेवा सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी वार्षिक १०० मेगाबिट प्रति सेकेन्ड वा सोभन्दा बढी गतिको इन्टरनेट सहितको प्रिमियम आईपी टिभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा अपग्रेड गर्ने ग्राहकहरूलाई विश्वकप टिभी प्याकेज निःशुल्क बोनसका रूपमा उपलब्ध गराइनेछ। बोनस प्राप्त गर्न ग्राहकहरूले मोबाइलबाट निश्चित सेवा कोड डायल गर्न सक्नेछन्।
नेपाल टेलिकमले ग्राहकहरूलाई उच्च गुणस्तरीय प्रविधि र खेल मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यो सेवा ल्याइएको जनाएको छ। थप जानकारीका लागि नजिकको ग्राहक सेवा केन्द्र वा आधिकारिक माध्यमबाट सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे