
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सर्वोदय परियोजनासँगको सहकार्यमा दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न व्यक्तिहरूलाई २५ थान सेतो छडी वितरण गरेको छ।
दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्र, सुरक्षित र सम्मानजनक आवागमनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशील पौडेलले सेतो छडी हस्तान्तरण गरेका थिए। कार्यक्रममा बैंकका अनुपालना विभाग प्रमुख खुमनाथ भुसालको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै ब्रान्डिङ तथा सीएसआर प्रमुख पौडेलले सेतो छडी दृष्टिविहीन व्यक्तिका लागि केवल हिँडडुलको साधन मात्र नभई आत्मनिर्भरता, सुरक्षा र आत्मविश्वासको महत्वपूर्ण आधार भएको बताए। विशेषगरी आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित समुदायका दृष्टिविहीन व्यक्तिहरूलाई यस्ता सहयोगले दैनिक जीवन सहज बनाउन र सामाजिक सहभागिता बढाउन मद्दत पुग्ने उनको भनाइ थियो।
सर्वोदय परियोजनाका सौगात वाग्लेले सेतो छडी वितरण कार्यक्रमले दृष्टिविहीन व्यक्तिहरूको जीवनस्तर सुधार, सामाजिक समावेशीकरण र स्वतन्त्र जीवनयापनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे। उनले यस्ता पहलले समुदायमा समावेशी विकासको भावना सुदृढ हुने बताए।
बैंकले दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर र सहज बैंकिङ अभ्यासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक रूपान्तरण र समावेशीकरणलाई केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे