
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर विदेश वा अन्यत्र अध्ययनका लागि गएका तर तोकिएको समयपछि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा त्रिविका सहकुलपति सस्मित पोखरेलले यसलाई उच्च शिक्षा क्षेत्रमा सुशासन र जवाफदेहिताको महत्वपूर्ण उपलब्धि बताएका छन्।
उनका अनुसार अध्ययन बिदा विश्वविद्यालयलाई दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरका जनशक्ति उत्पादन गर्ने उद्देश्यले दिइन्छ। तर केही प्राध्यापकहरूले राज्यको लगानीमा अध्ययन पूरा गरेपछि सेवामा नफर्किएर उक्त सुविधाको दुरुपयोग गरेका थिए। यसले विश्वविद्यालयलाई आर्थिक मात्र होइन, शैक्षिक र नैतिक क्षति पनि पुर्याएको थियो।
मन्त्रालयको पहल र त्रिविको सक्रियतापछि यस विषयमा छानबिन तथा कानुनी प्रक्रिया अघि बढाइएको थियो। त्यसकै परिणामस्वरूप सम्बन्धित प्राध्यापकहरूबाट रकम फिर्ता हुने क्रम सुरु भएको हो। अहिले पनि केही प्राध्यापकहरू रकम फिर्ता गर्ने प्रक्रियामा रहेका छन्।
मन्त्री पोखरेलले यो उपलब्धि केवल रकम असुलीमा सीमित नभई सार्वजनिक स्रोतको संरक्षण, संस्थागत अनुशासन कायम गर्ने र उच्च शिक्षा प्रणालीप्रति नागरिकको विश्वास बढाउने दिशामा महत्वपूर्ण कदम भएको बताएका छन्। मन्त्रालयले शिक्षा क्षेत्रमा पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे