
एजेन्सी । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुन लागू गरेको छ। सोमबारदेखि लागू भएको नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता प्लेटफर्ममा व्यक्तिगत खाता खोल्न वा चलाउन पाउने छैनन्।
नयाँ व्यवस्थाअनुसार सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा जाँच गर्नुपर्नेछ। उमेर नपुगेका प्रयोगकर्ताको खाता खोल्न नदिने र पहिले खोलिएका खाता पहिचान गरी रोक्ने जिम्मेवारी पनि कम्पनीहरूमाथि रहनेछ। नियम उल्लंघन गर्ने कम्पनीलाई १ करोड मलेसियन रिङ्गिटसम्म जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ।
सरकारले यो कदम बालबालिकालाई अनलाइन जोखिम, साइबर दुर्व्यवहार, मानसिक तनाव र हानिकारक सामग्रीबाट जोगाउन ल्याइएको बताएको छ। पछिल्ला वर्षहरूमा डिजिटल माध्यमबाट बालबालिकामा समस्या बढ्दै गएको कारण कडा नियम आवश्यक भएको सरकारको भनाइ छ।
सरकारले भने अभिभावकलाई बालबालिकाले नियम छल्दै खाता खोलेमा कानुनी कारबाही नगर्ने जनाएको छ। मुख्य ध्यान कम्पनीहरूलाई जिम्मेवार बनाउनेतर्फ रहेको छ। यसअघि अस्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले पनि यस्तै नियम लागू गरिसकेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे