
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित श्री पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ।
बैंकको शाखा कार्यालय सालझण्डीमार्फत आयोजित कार्यक्रममा बुटवल क्षेत्र प्रमुख हेमन्तबाबु आचार्यले विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थापालाई १२ थान डस्टबिन हस्तान्तरण गरेका हुन्। विद्यालय परिसरको सरसफाइ व्यवस्थापन सुदृढ बनाउने तथा विद्यार्थीहरूमा स्वच्छता सम्बन्धी व्यवहार विकास गर्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा प्रधानाध्यापक थापाले स्वच्छ विद्यालय, स्वस्थ विद्यार्थी र सफा समाज निर्माणका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै डस्टबिन वितरणले विद्यार्थीहरूमा सरसफाइप्रति सकारात्मक सोच र वातावरणीय चेतना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले विद्यालयलाई आवश्यक सामग्री उपलब्ध गराएकोमा बैंकप्रति आभारसमेत व्यक्त गरे।
बैंकका बुटवल क्षेत्र प्रमुख आचार्यले आर्थिक रूपमा कमजोर तथा विपन्न समुदायका विद्यार्थी अध्ययनरत विद्यालयहरूमा आधारभूत सरसफाइ सामग्रीको अभाव रहने गरेको उल्लेख गर्दै यस्तो सहयोगले विद्यालयको सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बताए। स्वच्छ र व्यवस्थित वातावरणमा अध्ययन गर्दा विद्यार्थीहरूको सिकाइ उपलब्धि, अनुशासन र आत्मविश्वासमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो।
कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकाससँग सम्बन्धित यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे