
काठमाडौँ। सरकारले भन्सार चोरी–निकासी तथा तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन नयाँ भन्सार नीति तथा नियमावली लागू गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ व्यवस्था अनुसार तस्करीसम्बन्धी सूचना दिने सुराकीलाई १० हजार रुपैयाँसम्म तत्काल नगद पुरस्कार उपलब्ध गराइनेछ।
नयाँ प्रावधानअनुसार भन्सार चोरी–पैठारी, सुन–चाँदी तथा अन्य बहुमूल्य वस्तु सम्बन्धी सूचनाका आधारमा सुराकीलाई मूल्याङ्कन गरी १५ देखि ३० प्रतिशतसम्म पुरस्कार दिने व्यवस्था गरिएको छ। सामान बरामद गर्ने प्रकृति र भूमिकाअनुसार पनि पुरस्कार दर निर्धारण गरिनेछ। सामान्य अवस्थामा १५ प्रतिशत, सामानसहित पक्राउ गरिए २० प्रतिशत र रातिको समयमा नियन्त्रणमा लिइए २० प्रतिशतसम्म पुरस्कार दिइने व्यवस्था समावेश गरिएको छ। यसअघि लागू रहेको पुरानो दर प्रणालीलाई संशोधन गरी नयाँ संरचना लागू गरिएको बताइएको छ।

नयाँ कार्यविधिअनुसार सुराकीको सूचनाको आधारमा तत्काल १० हजार रुपैयाँसम्म उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ, जसलाई विभागीय महानिर्देशकको स्वीकृतिमा तुरुन्त प्रदान गर्न सकिनेछ। तर सुराकीको पहिचान गोप्य राखिनेछ र अनुसन्धान निकायको औपचारिक मागबाहेक कुनै पनि व्यक्ति वा संस्थालाई सूचना स्रोत सार्वजनिक गर्न नपाइने प्रावधान राखिएको छ।
त्यस्तै, सूचनाको आधारमा मात्र कुनै व्यक्तिलाई अनुसन्धानमा उपस्थित हुन बाध्य पार्न नपाइने व्यवस्था समेत गरिएको छ, जसले सुराकी संरक्षणलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
यसैबीच, भन्सार प्रक्रियामा ठूलो सुधार गर्दै जोखिममा आधारित जाँच प्रणाली लागू गरिने भएको छ। अब सबै सामानको अनिवार्य भौतिक परीक्षणको सट्टा कम्प्युटर प्रणालीमार्फत मूल्याङ्कन गरी वस्तुलाई हरियो, पहेंलो वा रातो मार्गमा वर्गीकरण गरिनेछ। हरियो मार्गमा पर्ने सामानहरू बिना भौतिक परीक्षण पास हुनेछन् भने अन्य मार्गमा आवश्यक परीक्षण तथा जाँच गरिने व्यवस्था रहनेछ।
सरकारले यो प्रणालीले भन्सार प्रक्रिया छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने तथा तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे